काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जिम्मेवार व्यक्ति शिक्षा क्षेत्रको सुधारमा चुकिरहेको बताएका छन् ।
ज्ञानज्योति महिला माविको २०औं वार्षिक उत्सव तथा नमुना सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारणसभामा उनले नेपालको भविष्य शिक्षासँग प्रत्यक्ष रूपमा जोडिए पनि नीतिनिर्माण तहमा बसेका तथा जिम्मेवार व्यक्तिले अझै वास्तविक काम रुपमा नगरेको बताए ।
विद्यालयलाई केवल शिक्षण संस्था मात्र नभई सामुदायिक गौरवको केन्द्र बनाउनुपर्नेमा कोइरालाले जोड छ । ‘हामी नेपालीमा अपार क्षमता छ तर त्यसलाई उजागर गर्न सकेका छैनौं,’ उनले भने, ‘शिक्षकलाई सबल र सक्षम बनाउन सकिएन भने राष्ट्रलाई सबल बनाउन सकिँदैन । जबसम्म शिक्षकलाई राम्रो तलब, उचित सुविधा र सम्मान दिन सकिँदैन, तबसम्म गुणस्तरीय शिक्षा दिन सकिँदैन ।’
शिक्षित समाज निर्माण राष्ट्र समृद्धिको पहिलो आधार भएकाले आजको चुनौती भनेकै शिक्षा नीतिलाई प्राथमिकतामा राख्ने विषय भएको कोइरालाको भनाइ छ । उनले भने, ‘सरकारले मात्र होइन, समाज र समुदायले पनि शिक्षा सुधारलाई आफ्नै जिम्मेवारीका रूपमा लिनुपर्छ । शिक्षा क्षेत्रलाई राजनीति वा व्यक्तिगत स्वार्थको खेल बन्न दिनु हुँदैन ।’


0 comment