काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मधेस प्रदेशको विद्युत् र सिँचाइ सेवासम्बन्धी अवस्थाबारे जानकारी लिएका छन् ।
उनले विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाइ विभागका महानिर्देशक मित्र बरालसहितको टोलीलाई प्रदेशभरिका विद्युत् र सिँचाइ सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिए ।
मन्त्री खड्काले मधेस प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशको तुलनामा उच्च रहेको र यो समस्या तत्काल रोक्न आवश्यक कदम उठाउन आइतबार निर्देशन दिएका हुन् । उनले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत् आपूर्ति गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न पनि निर्देशन दिए ।
मन्त्री खड्काले मधेसका विभिन्न क्षेत्रमा पटक-पटक बिजुली जाने गुनासोको समाधान गर्न चौबीस घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।
उनले मन्त्रालयका लागि कार्यप्रणालीमा सुधार गर्ने र राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन तथा दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने नीति रहेको जानकारी गराउँदै आफ्नो जिम्मेवारी र दायित्वलाई प्राथमिकतासाथ पूरा गर्न निर्देशन दिए । ‘विद्युत् र सिँचाइ क्षेत्रमा सुधार आवश्यक छ । यो कामलाई प्रोत्साहित गर्दै, जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौं,’ उनले भने ।


0 comment