काठमाडौं - बैतडीमा हालसम्म सात जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालले बताएका छन् ।

दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले   जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताएका छन् । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो ।

यसैबीच यहाँका स्थानीय तहहरुले पनि डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् ।  दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई  अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए ।