काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति असहमति जनाएका छन् । सत्तारुढ दल कांग्रेस र एमालेले रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका बेला शर्माले यस विषयमा गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन् ।

शर्माले रानामगरले अमेरिकास्थित नेपाली दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भएको स्वीकार गरे पनि, त्यसकै आधारमा उनलाई पदमुक्त गर्नु अनुपयुक्त हुने बताएका छन् । ‘देशको प्रतिनिधित्व गर्दै विदेशमा रहँदा त्यही बेला पदमुक्त गर्न हस्ताक्षर संकलन गर्नु असुसंस्कृत कार्य हो,’ उनले भने ।

उनका अनुसार प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूविरुद्ध यस्ता निर्णय गरिँदा संवेदनशीलता आवश्यक हुन्छ । उपसभामुख रानामगर हाल अमेरिकामा छिन् ।

रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनको तयारीका लागि भैरहवामा रहेका शर्माले आफू संसदीय दलको कार्यालयमा संकलन भएको हस्ताक्षरमा सहभागी नभएको स्पष्ट पारे । ‘भैरहवामा पार्टीको काममा व्यस्त छु, मेरो त हस्ताक्षर पनि छैन,’ उनले भने, ‘काठमाडौँ फर्किएपछि यो विषयमा गम्भीर छलफल उठाउनेछु ।’