काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार गर्न निर्देशन दिएका छन् । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिकाबमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई मंगलबार यस्तो निर्देशन दिएका हुन् ।
सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको उनको भनाइ छ । ‘कुनै हालतमा काम हुनैपर्छ । समन्वयात्मक रूपमा अघि बढ्नुहोस्,’ उनले भने, ‘कन्ट्रयाक्टरले दिएको कार्यतालिकाबमोजिम काम गर्नुहोस् ।’
उनले संसद् भवनकै कारण मन्त्रालयको पर्फमेन्समा प्रश्न उठेको भन्दै केही समस्या परे मन्त्रालयले समन्वय गर्ने भन्दै काममा आलटमल स्वीकार्य नहुने बताए । सिंहले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेस गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न निर्देशन पनि दिए ।
बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनील ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्थाबारे जानकारी गराए ।
साइटवरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरीको काम, आन्तरिक सजावटको, कन्फरेन्सिङलगायत काम बाँकी रहेको उनले बताए । निर्माण व्यवसायीले आवश्यकभन्दा न्यून कामदार लगाएको र काम बाँडेर हरेक दिनको काम गर्ने तालिका दिएको तर त्योअनुसार काम नगरेको भन्दै असन्तुष्टि जनाए ।
निर्माण व्यवसायीले धेरै काम सम्पन्न भइसकेको भन्दै तालिकाअनुसार काम अघि बढाउन प्रतिबद्ध रहेको बताए । पुस अन्तिम सातासम्म संसद् भवनको निर्माण सम्पन्न गर्ने म्याद छ ।


0 comment