काठमाडौं - प्रमुख सत्तारूढ दल  कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन गरेको प्रयासलाई विपक्षी दलहरुले असफल पार्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको पहलमा सिंहदरबारमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले त्यसलाई असफल पार्ने निर्णय गरेको छ। बैठकमा सहभागी दलहरूले उक्त कदमको घोर भर्त्सना गर्दै संविधान, लोकतन्त्र र समावेशी प्रणालीमाथिको हमला भन्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार उपसभामुखविरुद्ध ठोस प्रमाणबिनै हटाउने प्रयास एकात्मक शासनतिर जाने संकेत हो। उनीहरूले सडकदेखि सदनसम्म प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुखलाई हटाएर सत्तारूढ गठबन्धनले संवैधानिक परिषद् कब्जा गर्ने नियत देखिएको बताएका छन्। कांग्रेस-एमालेले खाली कागजमा हस्ताक्षर संकलन गरेको आरोप लगाउँदै उनले यसलाई लोकतन्त्रको अपमान भनेका छन्।

बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, आम जनता पार्टी, र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए। विपक्षीहरू उपसभामुख हटाउने सत्तापक्षको कदम संविधानविपरीत भन्दै एकजुट भएका छन्।