काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेकै सक्रिय कार्यकर्ता रहेको स्पष्ट पारेकी छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको जानकारी दिँदै एमालेसँगको संगठनात्मक नाता कुनै हालतमा कसैले खोस्न नसक्ने बताइन्।

उनले भनिन्, ‘म नेकपा एमाले नै हो। सोही पार्टीबाट राष्ट्रपति भएकी हुँ। अहिले पनि म एमालेको कार्यकर्ता हुँ। मैले पार्टीकै हितका लागि काम गर्ने हो।’

एमालेले उनलाई औपचारिक भूमिका नदिए पनि आफू पार्टी संगठनकी सदस्य नै रहेको भण्डारीको प्रस्टोक्ति छ। पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे औपचारिक जानकारी नआएको भन्दै उनले सदस्यता खोसिएको भन्ने हल्ला असत्य भएको दाबी गरिन्।

‘३५/३६ वर्षदेखि मैले पार्टीसँग निरन्तर यात्रा गरेकी हुँ,’ उनले भनिन्, ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि मैले सदस्यता नवीकरण गरिसकेकी छु। यो अधिकार कसैले खोस्न सक्दैन।’

राजतन्त्र र गणतन्त्रको सन्दर्भमा बोल्दै उनले राजा व्यक्ति भए पनि राष्ट्रपति पद भएको बताइन्। ‘जनताले निर्वाचित गरेका कोही पनि व्यक्ति त्यो पदमा जान सक्छन् र कार्यकालपछि सामान्य जीवनमा फर्कन सक्छन्,’ उनले भनिन्।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँगको भेटका विषयमा भइरहेको टिप्पणीलाई सहज रूपमा लिनुपर्ने बताउँदै उनले भनिन्, ‘हामी पुराना साथी हौँ, भेटघाट हुनु स्वाभाविक हो। देशका शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीका विषयमा नेताहरूबीच छलफल हुनु सकारात्मक कुरा हो।’ वाम एकताको सम्भावनाबारे प्रतिक्रिया दिँदै उनले तत्काल बलियो आधार नभए पनि भविष्यमा एकता असम्भव नरहेको जनाइन्।