काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलबीच आव ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आवमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष ०८२/८३ मा गरिने कार्यसम्पादनलाई छिटो र प्रभावकारी बनाउन आज (सोमबार) भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकामा असन्तुष्टि जनाउँदै समयमा योजनाहरु किन सकिएनन् ? भन्दै प्रश्न पनि गरे ।
‘कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्यो । समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्यो । पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दैन । गर्नुपर्ने काम समयमा गर्नुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ,’ उनले भने, ‘सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चासो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरी काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।’ उनले अघिल्लो आवमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउँदै चालु आवमा मन्त्रालयका काम प्रभाकवारी बनाउने गष्रि लाग्न सचिवसहित सबै विभागिय प्रमुखहरुलाई निर्देशन पनि दिए ।
सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालु आवमा कार्यलक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उपप्रधानमन्त्री सिंहले यसअघि प्रधानमन्त्री केपी ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।


0 comment