काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा र विद्युत्‌लाई अक्सिजनसरह अपरिहार्य रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणलाई चौबीसै घण्टा अविच्छिन्न, सुरक्षित र भरपर्दो आपूर्ति गर्न सक्ने संस्थामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा आइतबार आयोजित नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा उनले विगतका वर्षमा निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल भए पनि अझै धेरै सुधारका पक्ष बाँकी रहेको बताए । ‘हामी नागरिकभन्दा एक कदम अगाडि छौं, त्यसैले केवल दायित्व पूरा गरेर पुग्दैन,’ उनले भने, ‘कर्तव्यबोधका साथ प्रेरणादायी ढंगले काम गर्नुपर्छ ।’

उनले सुरक्षित गुणस्तरीय र भरपर्दो विद्युत् प्रवाहलाई आजको मुख्य आवश्यकता ठहर गर्दै प्राधिकरणलाई स्मार्ट प्रविधि प्रयोगमार्फत विद्युत् चुहावट न्यूनीकरण गर्न निर्देशन दिए । साथै विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराइएको र आगामी दिनमा विद्युत् बिक्रीमा समेत संलग्न गराइने स्पष्ट पारे ।

मन्त्री खड्काले गरिब तथा विपन्न वर्गलाई विनाधितो जलविद्युत्‌को सेयर उपलब्ध गराएर उनीहरूको आर्थिक अवस्था सुधार गर्ने योजनाको समेत जानकारी दिए । उनले लामो समयदेखि असुल नगरिएको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउन निर्देशन दिँदै ‘प्रयोग गरेको बिजुलीको पैसा पाइपाई उठाउनुपर्छ’ भन्दै उनले कुनै पनि बहानामा बक्यौता उठाउने काममा ढिलाइ नगर्न निर्देशन दिए ।

मन्त्री खड्काका अनुसार ऊर्जा क्षेत्रमा भएको प्रगति मुलुकको अर्थतन्त्र सबल बनाउन महत्त्वपूर्ण छ । त्यसैले प्राधिकरणले जिम्मेवार र उत्तरदायी ढंगले काम गर्दै चौबीसै घण्टा विद्युत् आपूर्ति गर्ने क्षमताको विकास गर्नुपर्ने आवश्यकता रहेको उनले दोहोर्याए ।

समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छाले सबै घरधुरीमा विद्युत् पुर्याउनुपर्ने आवश्यकता औंल्याए । विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण र वितरण प्रणाली अझ सबल बनाउनुपर्ने धारणा राखे ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) नेपालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले पीपीए रोक्ने, आरसीओडी म्याद नथप्नेजस्ता नीतिले सरकारको लक्ष्य प्रभावित हुने चेतावनी दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने आगामी वर्ष काठमाडौं उपत्यकाका चार लाख घरधुरीमा स्मार्ट मिटर जडानको प्रक्रिया सुरु हुने र देशभर गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था गरिने बताए ।

समारोहमा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । साथै उत्कृष्ट काम गर्ने कार्यालयहरूलाई समेत पुरस्कृत गरिएको थियो ।