काठमाडौं - नेपाली काङ्ग्रेसका उपसभापति, पूर्वमन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा विकृति मौलाएको दाबी गरेका छन् ।
नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजित नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री गुरुङले पछिल्लो समय राजनीतिमा मौलाउँदै गएको विकृति सबै मिलेर चिर्नुपर्ने बताए । महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालका हरेक परिवर्तनमा सबै जातजाति समुदायको ठुलो योगदानले मात्रै परिवर्तन सम्भव भएको उल्लेख गर्दै अधिकार मागेर नपाइने दाबी पनि गरे ।
अब देशको मुख्य नेतृत्वमा मगरलगायत जनजातिले दाबी गर्न ढिला गर्न नहुने भन्दै उनले त्यसका लागि संगठन विस्तारमा लाग्न सबैलाई आग्रह गरे । उनले भने, ‘जनजातिहरुलाई सोझो जाति भनेर मख्ख पारेको छ, त्यहीँ मक्खमा पर्दा नेतृत्वमा पुग्न सकेनन्, अधिकार मागेर पाइने होइन खोसेर लिनुपर्छ ।’
इतिहासलाई एकपटक फर्केर हेर्ने र भविष्यको बाटो कोर्न तयार भएर अगाडि बढ्नुपर्ने बताउदै पार्टीभित्र अथवा पार्टीबाहिर अवसर त्यतिकै प्राप्त नहुने उनले दाबी गरे । हिजो अवसर पाउनेहरुले पनि योगदानका आधारमा अवसर प्राप्त गरेको र भोलि पनि योगदानकै आधारमा अवसर प्राप्त हुने भन्दै सबैलाई योगदान गर्न आग्रह गरे ।
जनजातितर्फ लक्षित गर्दै गुरुङले बन्दुक चलाउने हातले कलम चलाउन नजान्दा पछाडि परेको हुनसक्ने उल्लेख गर्दै सबैलाई चनाखो हुन आग्रहसमेत गरे ।


0 comment