काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको चिकित्सा शिक्षा आयोगको २१औं बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाका विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌को पीससीएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिसबमोजिम यस्तो निर्णय भएको हो । जसअनुसार अहिलेसम्म १०० सिट रहेको एमबीबीएसको सिलिङ बढाएर १३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय भएको छ ।

गत असार ३२ गते भएको आयोगको २०औं बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो ।

निर्णयअनुसार सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस छन् । पोखराको मणिपाल शिक्षण अस्पतालले १२० सिट पाएको छ ।