काठमाडौं - प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभापति पदबाट राजीनामा दिएका छन्। संघीय निजामती सेवा विधेयकमा भएको त्रुटि र त्यससम्बन्धी आलोचना चुलिँदै गएका बेला उनले पदभन्दा प्रश्नलाई प्राथमिकता दिएको भन्दै मंगलबार संसद्मा बोल्दै राजीनामा दिएको घोषणा गरेका हुन्।
राजीनामा घोषणासँगै उनले संसदीय समितिमा रहँदा कर्मचारी प्रशासनको दाउपेच र शक्ति प्रदर्शनको सामना गर्नुपरेको उल्लेख गरे। उनले आफूले विधेयकमा त्रुटि हुन नदिन प्रयास गरेको र समितिले पनि ‘कुलिङ अफ पिरियड’ लागु गर्न अडान लिएको बताए।
खतिवडाले त्रुटि समितिबाट नभइ विधेयक प्रतिवेदन लेख्ने क्रममा भएको स्वीकार गर्दै, त्यसप्रति समयमै ध्यान नपुगेको कमजोरी रहेको जनाए।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा "कुलिङ अफ पिरियड" सम्बन्धमा त्रुटि देखिएपछि गठन गरिएको विशेष छानबिन समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो। समितिले २७ दिनको अध्ययनपछि प्रतिवेदन बुझाएको थियो।
खतिवडाले भने, छानबिन समितिले आफूलाई दोषी भनेर स्पष्ट रूपमा नठहराएको दाबी गरे। ‘रामहरि खतिवडा दोषी भनेर किटान गरिएको छैन,’ भन्दै उनले पदभन्दा प्रश्नलाई महत्व दिएको बताए।
राजीनामा दिनुअघि खतिवडाले सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेटेका थिए। उनले विधेयकमा त्रुटि देखिएपछि तत्काल सुविधा समेत फिर्ता गरिसकेको बताएका छन्।
राजीनामा घोषणा गर्दै उनले भने, ‘किसुनजीबाट दीक्षित मान्छे हुँ, पदभन्दा प्रश्न ठुलो हो भन्ने मान्यताका आधारमा हाँसीहाँसी राजीनामा दिएको छु।’
खतिवडाको सभापतित्वमा समितिबाट महत्त्वपूर्ण विधेयकहरू पारित भएको दाबी गर्दै उनले राजनीतिक निष्ठामा कमी देखिएको समय आफू इतिहासमा नाम लेखाउन चाहेको जनाएका छन्।


0 comment