काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् ।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको उनको भनाइ थियो । सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।’

माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः सुरु गर्ने र त्यसपछि पुनः केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेण्डासहित अघि बढ्ने उनको भनाइ थियो । ‘त्यसैले हाल सरकारभन्दा जनताका कुरा सुन्नतर्फ पार्टीलाई केन्द्रित गरिरहेका छौं । जनताको गुनासो र ती गुनासा  समाधानका लागि अभियान पुनः सञ्चालन गर्न लागिएको हो,’ अध्यक्ष दाहालले भने ।

हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उनले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने बताए । फरक प्रशंगमा उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गरेको र त्यहाँ द्रूतगतिमा काम अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।