काठमाडौं - जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुने सम्भावना न्यून देखिएको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्क कोमामा पुगेको भन्दै त्यसको पुनरुत्थान हुनेमा आशंका व्यक्त गरे। उनले क्षेत्रीय सहकार्य र स्थायित्वका लागि सार्कलाई पुनर्जीवित गर्न सबै सदस्य राष्ट्रहरू गम्भीर हुनुपर्ने धारणा पनि व्यक्त गरे।

‘सार्क त अब मरिसक्यो भनेर नहौंला, तर कोमामा गइसकेको छ,’ यादवले भने, ‘अब फर्किन्छ कि फर्किँदैन भन्ने ठेगान छैन।’

उनले दक्षिण एसियाका लागि सार्कको महत्व अझै कायम रहेको उल्लेख गर्दै वर्तमान सन्दर्भमा यसको आवश्यकता झनै बढेको बताए।

यादवका अनुसार, विगतमा सार्कले आतंकवादविरुद्धको पहल थालेको थियो, तर त्यसले निरन्तरता पाउन सकेन। अहिले पनि आतंकवादी गतिविधि नियन्त्रणका लागि प्रभावकारी क्षेत्रीय च्यानल आवश्यक रहेको उनको भनाइ थियो।