काठमाडौं - गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् ।

सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बिहीबार उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्वसूचना प्राप्त गर्ने बताए । ‘नेपालमा पनि एकतिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर छ,’ उनले भने, ‘२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’

उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एकतिहाइ जनसंख्या अझै पनि पूर्वसूचनाको पहुँचमा नरहेको तथ्यांकमा रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए । ‘संयुक्त राष्ट्रसंघले सन् २०२२ मा घोषणा गरेर २०२७ भित्र एकतिहाइ मानिसले पनि सूचना प्राप्त गर्नुपर्छ भनेको छ,’ उनले भने, ‘हामी अहिले त्यसको मार्गचित्र बनाउँदै छौ थोरै पछाडि परेका छौं अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चिता गर्छ ।’

उनले अहिले पूर्वसूचना प्रणालीले मानवीय क्षति नभएको पनि बताए । पूर्वसुचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको उनको भनाइ थियो । ‘जुन ठाउँमा हामीले पूर्वसूचना दिनसक्यौं त्यस ठाउँमा भारी वर्षा भएर पनि मानवीय क्षति भएको छैन,’ गृहमन्त्री लेखकले भने, ‘जुन ठाउँमा पूर्वसूचना दिन सकेनौं तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि मानवीय क्षति भएको छ ।’

उनले रसुवामा आएको बाढीबारे पूर्वजानकारी नहुँदा जनधनको क्षति भएको बताए । उनले गत वर्ष कञ्चनपुरमा ७७ वर्षयताकै सबैभन्दा ठुलो वर्षा हुँदा पनि पूर्व सूचना हुँदा मानवीय क्षति नभएको बताए ।