काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन् ।

उनले नेपाल झनझन गरिबीको रेखामुनि गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताए । उनले जनता पूर्ण रुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनुबाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए ।

‘यो गणतन्त्र व्यवस्था, यो संघीयता, पूर्ण रुपले असफल भइसकेको छ । यो राष्ट्र झनझन गरिबीको रेखामुनि, झनझन भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । जनता पूर्ण रुपमा निराश भइसकेका छन् । नेपालीको भाग्य र भरोसा अर्काको देशमा गएर नोकर हुनुबाहेक अर्को विकल्प छैन,’ उनको दाबी छ ।

असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य ल्याउन अग्रसर भइरहेको उनको भनाइ छ । उनले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव रहेको बताए ।

उनले भने, ‘असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य ल्याउन अग्रसर छौं । अगुवाइ गरिरहेका छौं । नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव हुन्छ ।’

नेपाली जनताले संघीयता र गणतन्त्र असफल भएको महसुस गरिरहेको भन्दै अहिलेको व्यवस्था परिवर्तन गर्न जनताले सोच बनाइरहेको पनि दाबी गरे । राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउन गलत मुद्दा लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको उनको आरोप छ । नेपालीहरुले संवैधानिक राजतन्त्रको पक्षमा आफ्ना आवाजहरु उठाइरहेको र अब विस्तारै सफल हुने दाबी गरे ।

‘नेपाली जनताले विस्तारै संघीयता र गणतन्त्र असफल भएको महसस गरेकै छ । यसलाई परिवर्तन गर्नुपर्छ भनेर नेपाली जनताले सोच बनाइरहेको छ । राज्य तर्सेर, डराएर तीनकुने घटना र जेठको १५ गतेको आन्दोलनपछि हच्केको छ । राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउन गलत मुद्दाहरु लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको छ,’ उनले भने, ‘यो प्रयास सफल हुँदैन । किनभने नेपाली जनताले देशमा परिवर्तन चाहिन्छ, सयकडौं राजाभन्दा एउटा राजा, संवैधानिक राजा, नेपाली जनताका छोराछोरीले राजनीति गर्ने, संविधानभित्र रहेर बस्ने राजाको कल्पना नेपाली जनताले गरिरहेको छ । यथार्थमा परिणत हुन्छ, सार्थक हुन्छ । अब चुप लागेर बसिरहने स्थिति छैन, बाटो देखाइरहेका छौँ, सहयोग गरेर अघि बढ्नुस् ।’

बर्खापछि राष्ट्रवादी शक्तिहरु एकसाथ भएर अघि बढ्ने उनको भनाइ छ ।