काठमाडौं - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले संगठनका आफ्ना दुई नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी संघको बैठकले लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका राईलाई संगठनको अनुशासनात्मक कारबाही गर्दै पार्टी सदस्यता खारेज गर्न समेत सिफारिस गरेको हो ।

यसअघि साउन १० मा पार्टीविरोधी गतिविधि गरेको र आर्थिक अनियमितता गरेको भन्दै उनीहरुलाई निलम्बन गरिएको थियो । त्यसपछिपनि दुवैजनाले चित्तबुझ्दो जवाफ नदिएको र नेताहरुलाई गालीगलौज गर्ने र मिडियाबाट अर्नगल प्रचार गरेको भन्दै कारण उनीहरुलाई साधारण सदस्यबाट हटाइएको युवासंघले विज्ञप्ति मार्फत  जनाएको छ ।

विज्ञप्तिमा पार्टी र नेतृत्वमाथि लाञ्छना लगाउँदै कपोलकल्पित आरोप फैलाउने कार्य गम्भीर राजनीतिक विचलन भएको उल्लेख गर्दै संगठनको अनुशासन,हित र गरिमा कायम राख्न बाध्य भएर कारबाही गरिएको जनाईएको छ ।