काठमाडौं -  देशका सबै संघीय अस्पतालमा अब डिजिटल भुक्तानी हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाउँदै बिलको भुक्तानी अनलाइन तथा क्यूआरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुमा हुने भिड व्यवस्थापनका लागि नौबुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । उनले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भिड कम हुने गरी काम अघि बढाउन अधिकारीहरुलाई भनेका थिए ।

यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमनसमेत गर्ने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरुले मन्त्रालयसमक्ष जनाएको नौबुँदे प्रतिबद्धताअन्तर्गत नै भिड व्यवस्थापन गर्ने विषयसमेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।