काठमाडौं - नेकपा माओवादी केन्द्रले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै फेरि एक पटक जनतामाझ जाने गरी आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ। सोमबार र मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले मुलुकमा देखिएका विकृति र विसंगतिका विरुद्ध फेरि आन्दोलनमा जाने निर्णय गरेको हो।

बैठकपछि मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी अब सुदृढ एकतासहित अगाडि बढ्ने बताए ।

पार्टी एकताबद्ध भइसकेको दाबी गर्दै भने, ‘हामीले सामूहिक प्रतिबद्धता गरेका छौं। अबदेखि सबै प्रकारका गुटबन्दी, समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं।’प्रचण्डले जनतासँग पुनः संवाद र संघर्षको बाटो रोज्ने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार देशको लोकतान्त्रिक आन्दोलन र लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणमा माओवादीको भूमिका नेतृत्वदायी रहेको बताउँदै त्यसैलाई अझ सुदृढ बनाउन पार्टी एकताबद्ध हुनुपर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरिएको हो।