काठमाडौं - गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका छन् ।
सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले आइतबार सूक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनै कसर बाँकी नराख्न सीआईबीलाई निर्देशन दिए ।
‘निर्मला पन्तलगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु,’ गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’
उनले सीमित स्रोत-साधनका बीच प्रहरीमा सीआईबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गरे । गृहमन्त्री लेखकले सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको पनि बताए ।
मुलुकमा पछिल्लो समय वित्तीय अपराध बढेकाले यसको नियन्त्रणका लागि आफूले वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए । ‘प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ,’ उनले भने, ‘प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आवमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ ।’
प्रहरीभित्र सीआईबीको महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायत विकास गरिनेमा जोड दिए ।
त्यसअवसरमा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा प्रस्तुति राखेका थिए । उनले सीआईबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सीआईबी प्रमुख (प्रहरी अतिरिक्त महारीक्षक) चन्द्रकुवेर खापुङलगायत अधिकारीको सहभागिता थियो ।


0 comment