काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वसँग रिस उठ्दैमा कसैले पनि पार्टी छाडेर जाने कुरा गर्न नहुने बताएका छन् ।
पार्टी अध्यक्ष प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक रूपमा विवाद बढ्दै जाँदा, पुनले पार्टी एकता कायम राख्न सबै नेता संयमित हुनुपर्ने सन्देश दिएका हुन्।
काठमाडौँमा शनिबार किसान नेता भिमदत्त पन्तको स्मृति दिवसमा बोल्दै उनले भने, ‘जति रिस उठे पनि भाग्न मिल्दैन। हामीले आन्दोलनमा गरेका बलिदानको जिम्मा लिनुपर्छ।’
उनले नेताहरूबीच मतभेद हुनसक्ने बताए। तर, पार्टीभित्र सौहार्द र आपसी समझदारी आवश्यक रहेको उल्लेख गरे।
पुनले अध्यक्ष प्रचण्डसहित नेताहरुका पनि कमजोरी र आलोचनाभन्दा माथि नभएको बताए । तर, इतिहासबाट भाग्न खोज्नेले नेता कहलिन नसक्ने धारणा राखे।
केही दिन अघि काठमाडौंमा भएको एक कार्यक्रममा पनि उपमहासचिव शर्माले मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट नेताहरु असुली धन्दामा लागेको भन्दै आलोचना गरेका थिए । त्यसको जवाफमा अध्यक्ष प्रचण्डले शर्मालाई 'सिंगौरी खेल्न छुट दिएको' भनेका थिए।
माओवादी केन्द्रभित्र नेतृत्व विवाद देखिन थाल्दा उपमहासचिव पुनले सबैलाई संयमित भएर पार्टीभित्रै छलफल गर्न आग्रह गरेका हुन्।


0 comment