काठमाडौं - नेकपा एकीकृत समाजवादीभित्रको आन्तरिक कलह सतहमा आएको छ ।

पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन् ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपालले प्रतिवाद गरेका थिए । खनालको उक्त अभिव्यक्तिको प्रतिक्रियामा अध्यक्ष नेपालले सार्वजनिक रूपमै (विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै) ‘पार्टी छोडेर जानसक्ने’ अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष नेपालको उक्त अभिव्यक्तिपछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रबार खनालले अध्यक्ष नेपालको भनाइ अत्यन्तै अशोभनीय, गैर-जिम्मेवार एवं तानाशाही प्रवृत्तिको भएको बताए ।

‘पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा यस्तो हुँदैन,यदि मेरो कुरामा चित्त नबुझेको हो वा केही स्पष्ट हुनुपर्ने थियो भने पार्टीको बैठक बोलाएर वा व्यक्तिगत रूपमा सोध्न सकिन्थ्यो,’ खनालले भने, ‘तर त्यसरी सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु सरासर तानाशाही हो ।’

उनले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरे । ‘मैले पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन, जनताको काम गर्न सकिएन भन्दा पार्टी छोडेर जा भन्नेलाई मेरो प्रश्न छ- कस्तो तानाशाह बन्न खोजेको हो ?’ खनालको प्रतिप्रश्न छ ।