काठमाडौं - गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डार र प्रयोग ठुलो चुनौतीका रुपमा देखिएको बताए ।

‘लागुऔषधको प्रयोगले सवारीसाधन दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागु गरेका थियौं । त्यो अभियान सार्थक भएको छ,’ उनले भने ।

विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । ‘आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौती सामना गर्नु छ । स्रोत-साधनको कमी भए पनि चाहँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ,’ उनले भने । लागुऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

‘खास गरेर युवाहरुमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवाशक्ति लागुऔषधमा फसेको देखिएको छ,’ उनले भने, ‘लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागुऔषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’

यस्तै गृहमन्त्री लेखकले लागुऔषध ब्युरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । ‘लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ,’ उनले भने ।

गृहमन्त्रीले लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्न तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिए । कार्यक्रममा महानिरीक्षक थापाले लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको प्रतिक्रिया दिए ।