काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई जलविद्युत्‌को केन्द्रका रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन् ।

खाँदबारी नगरपालिका १ मा आजदेखि सुरु भएको २० दिने पावरहाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी तालिम उद्घाटन समारोहमा मन्तव्य दिँदै उनले भने, ‘सङ्खुवासभा जलविद्युत्‌को ठुलो सम्भावना बोकेको जिल्ला हो । यहाँ अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणका चरणमा छन् । यस्ता आयोजनालाई सफल र दीर्घकालीन बनाउन प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।’

जलविद्युत्‌का ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सिर्जना गर्न सीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम सञ्चालन हुनु प्रशंसनीय रहेको बताए । उनले सङ्खुवासभामा अबको प्राथमिकता स्थानीय जनतालाई घरमै तालिम दिई रोजगारीको वातावरण निर्माण गर्नु भएको उल्लेख गरे । उनले भने, ‘सीप विकास मात्र रोजगारीको सशक्त आधार होइन, यसले आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्छ ।’

तालिममा जिल्लाभरका १० वटा पालिकाबाट सहभागी आएका छन् । कुल २० दिनसम्म चल्ने तालिममा १२० घण्टाको पाठ्यक्रम समेटिएको छ । तालिम पश्चात प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ, जसले सहभागीहरूलाई जलविद्युत्‌का आयोजनामा काम गर्ने अवसर प्राप्त गराउनेछ ।

मन्त्री खड्काले स्थानीय युवालाई प्राविधिक शिक्षामार्फत दक्ष बनाउने दीर्घकालीन लक्ष्यअन्तर्गत भविष्यमा खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गरिने योजना सुनाए । उनले स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्रीजस्ता विभिन्न शाखाका सीप तालिम सञ्चालन गरी व्यावसायिक क्षमता अभिवृद्धि गरिने जानकारी पनि दिए ।

कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरप्रमुख थपलियाले तालिम कार्यक्रमले युवाहरूमा आशा, सम्भावना र आत्मनिर्भरता बोकेको बताउँदै यस्ता पहललाई नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।