काठमाडौं - उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसद्‌का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित मिलेर गरेको सातबुँदे सहमतिलाई कम आँक्न नहुने बताएका  छन् ।

नेपाली कांग्रेस रामेछाप-गुन्सी १ ले साउन १५ को खिर खाने दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘सातबुँदे सहमतिलाई कम नआँकौं । राजनीतिक स्थिरता ल्याउन दुई ठुला दल कांग्रेस र एमालेले अरु दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ,’ उनले भने, ‘६/७ महिनामा सरकार परिवर्तन भएको भयै थियो । नागरिकले सरकार त टिक्दैन भने सरकारले अरु के गर्छ ? भनेर प्रश्न गरिरहनुभएको थियो । अहिले सरकारले स्थिरता पाएको छ । राजनीतिक स्थिरताकै जगमा नागरिकको जीवन र जीवविका सहज बनाउन सरकारले काम गरिररहेको छ ।’

उनले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको विषयमा पूर्वसहमति कार्यान्वयन नहुँदा विषय बाहिर आएको बताए । ‘पार्टी सञ्चालन गर्दा साथीभाइबीच भएको सहमतिलाई त सबैले पालना गर्नुपर्छ नि । विश्वासको संकट भयो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन,’ सिंहले भने, ‘सहमति भएपछि सोहीअनुसार अगाडि बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्यो ।’

उनले समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुनै पदमा पुगेपछि सोहीअनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रस्ट्याए ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा जोड दिए । ०५६ सालदेखि नै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराए । उनले अहिलेको चुनौती सामना गर्न कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा रामेछापका नेताहरुले पार्टीभित्र अराकजता बढेको भन्दै पार्टीलाई विधिसम्मत चलाउन केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।