काठमाडौं - कारागारमा रहेका पार्टी अध्यक्ष रवि लामिछानेलाई भेट्न रास्वपाका सांसदहरु भैरहवा पुगेका छन् । संसदीय दलको बैठकका लागि त्यहाँ पुगेका सांसदहरुले लामिछानेसँग सामूहिक भेट गर्न भने पाएनन् ।
कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितको टोलीले सामूहिक रूपमा रवि लामिछानेलाई भेट्ने प्रयास गरेको थियो। प्रशासनले सामूहिक भेट्न नमिल्ने भनेपछि छुट्टाछुट्टै रूपमा दुई जनाले मात्र भेट गरेका छन्।
स्रोतका अनुसार कार्यवाहक सभापति अर्याल र सांसद सोविता गौतमले लामिछानेसँग भेट गरेका हुन्।
सभापति लामिछानेसँग उनीहरुको भेट भएको भनिए पनि के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन। यद्यपि रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ ।
लामिछानेको सांसद पद निलम्बनमा परेपछि रास्वपा संसदीय दल नेतृत्वविहीन अवस्थामा छ भने कार्यवाहक पनि अहिलेसम्म तोकिएको छैन। उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको संयोजन गर्दै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक भैरहवामा बस्दैछ । दिउँसो १ बजे होटल रमादामा बस्ने बैठकमा रुपन्देहीको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ । पार्टीले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट साउन २१ गते भित्र आवेदन दिन माग गरिसकेको छ।


0 comment