काठमाडौं - नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने दाबी गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आइतबार यसबारे जानकारी गराएका हुन् । उनले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताए । कांग्रेसको महाधिवेशन पाँच वर्षमै हुने गरेको सिटौलाको भनाइ छ । अहिले क्रियाशील सदस्यता टुंगिनसकेको भन्दै सदस्यता नै टुंगो नलागिसकेको अवस्थामा महाधिवेशन हुन सम्भव नरहेको उनको दाबी छ ।

‘महाधिवेशन २०८३ को दसैंको सेरोफेरोमा हुन्छ । कांग्रेसको महाधिवेशन आजसम्म ५ वर्षमै भएको छ । नवौं, दशौं, एघारौँ, बाह्रौं, तेह्रौं, चौधौँ, अब १५औं हुने हो । ४ वर्षमा कहिल्यै भएको छैन । ४ वर्षे कार्यकालमा एक वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष यो मंसिरमा पूरा हुन्छ,’ उनले भने ।

नेता सिटौलाले ०८३ सालको मंसिरभन्दा पछि महाधिवेशन लैजान नहुने धारणा राखे । उनले भने, ‘क्रियाशील सदस्यता नवीकरण टुंगिसकेको छैन । असोज मसान्त तोकेको छ । सदस्यता नवीकरण नै असोज मसान्तसम्म भनेपछि कहाँबाट मंसिरमा हुन्छ महाधिवेशन ? ०८३ सालको दसैंअघि वा दसैंपछि पुग्नसक्छ । तर मंसिरभन्दा टाढा लैजानु हुँदैन ।’