काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई परिवर्तन र संघर्षको ‘राजनीतिक ब्रान्ड’ भन्दै सबै दोष उनैको टाउकोमा थोपरेर बाँकी नेताहरू उम्कन नहुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले प्रचण्डकै नेतृत्वमा सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र संविधान निर्माण सम्पन्न भएको भन्दै समाजवादको आधार तयार पार्न अझै केही समय उनको नेतृत्व आवश्यक रहेको बताए।

‘प्रचण्डको ब्रान्ड भ्यालु अझै कायम छ। हामीले उहाँलाई ब्रान्डका रूपमा स्थापित गरेका छौं,’ भन्दै उनले प्रचण्डले पनि आफूलाई थप रूपान्तरण गर्नुपर्ने सुझाव दिए।

पुनले पटक–पटक मन्त्री, सांसद भइसकेका नेताहरूले विगतका कमजोरीको जिम्मेवारी लिनुपर्ने भन्दै आत्मालोचना गरेर सुधार गर्नुपर्ने धारणा राखे।

अन्य दलको तुलनामा माओवादी केन्द्रका नेताहरू मुलुकप्रति बढी इमानदार रहेको दाबी गर्दै उनले आलोचनात्मक आत्मसमीक्षासँगै अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।