काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् ।
महोत्तरीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिँचाइ गर्न सकिने बताए । उनले पानीको अभावका कारण मधेस सुक्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको बताए ।
‘अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरुलाई आग्रह गर्दछु । गैरसरकारी संघसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने, ‘हामी अहिले तत्काल केही डिप बोरिङहरु जडान गर्ने र डिप बोरिङमार्फत तत्कालका लागि ५ सय जति डिप बोरिङ गर्नेछौँ । एउटाले लगभग ६० बिघा जमिन सिँचाइ गर्न सकिन्छ ।’
सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरु सुरु गरिसकेको बताए । चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारका तर्फबाट मधेसमा पानीको समस्या समाधान गर्न सबै सरकारी निकाय, गैरसरकारी निकायहरुलाई उनले आग्रहसमेत गरे ।
‘मधेस सुक्खाग्रस्त छ । पानीको अभावको कारणले सुक्खाग्रस्त भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेका छौँ । संकटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायहरुबाट काम गर्नेछौँ,’ उनले भने, ‘चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकुल वातावरणतर्फ फर्काउने काम गर्दछौँ । तत्कालका लागि अरु विभिन्न काम अघि बढाउनेछौँ ।’
प्रधानमन्त्री ओलीले मधेसका ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए ।


0 comment