काठमाडौं - प्रधानमन्त्री केपी ओलीले कांग्रेस-एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जाने बताएका छन् ।

महोत्तरीमा शुक्रबार आयोजित कार्यक्रममा उनले अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको अगुवाइमा बनेको संयुक्त सरकार रहेको र आफूले नेतृत्व गरिरहेको बताए । अहिलेको सरकारले विकासको अठोट लिएको र अब एक वर्षमा आफूले प्रधानमन्त्री रहँदा धेरै विकास निर्माणका कामहरु गर्ने उनको दाबी छ ।

‘अहिलेको सरकार एमाले र कांग्रेसको अगुवाइमा बनेको संयुक्त सरकार हो । जसमा लोसपा पनि सरकार छ, जसमा जनमत पनि सरकारमा छ । अरु पनि सरकारमा छन् । यो संयुक्त सरकार हो । सबै पार्टीको । जसको नेतृत्व नेकपा एमाले र नेपाली कांग्रेसले गरेको छ,’ ओलीले भने, ‘यो समीकरण देश विकासको अठोट लिएको छ । मैले प्रधानमन्त्रीको हैसियतमा अरु एक वर्ष काम गर्नेछु । यो एक वर्षमा थुप्रै कुराहरुमा परिवर्तन ल्याउने अठोट लिएको छु । चुनावसम्म हामी विकास निर्माणमा अघि बढ्नेछौँ ।’

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्मै सरकारले विकास निर्माणका काममा अघि बढ्ने दाबी गरे ।