काठमाडौं - शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले नेपाललाई दक्षिण एसियामा नेत्र उपचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा तिलगंगा विश्वविद्यालयसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । नेपाललाई दक्षिण एसियाको आँखा उपचार केन्द्रका रुपमा विकास गर्न विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उनले नेपालमा हुने आँखा उपचार अन्य देशभन्दा छरितो, सरल, सहज र विश्वसनीय मात्र नभई लागतको दृष्टिले पनि निकै सस्तो रहेको दाबी गरे ।

‘नेपाल अहिले दक्षिण एसियामा नेत्र उपचारको केन्द्रका रुपमा स्थापित हुन खोजिरहेको छ । त्यो सम्भावना निकै देखिएको छ । र त्यो सम्भावनालाई यो विश्वविद्यालयको स्थापनाले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । नेपालको आँखा उपचार विश्वसनीय, छरितो, सरल र सहज र सस्तो पनि छ,’ उनले भने, ‘बाहिरका देशहरुको आधाभन्दा कम खर्चमा नेपालमा आँखा उपचार भइरहेको छ । त्यसले गर्दा नेपालको आँखा उपचारको ठुलो सम्भावना छ । त्यसलाई यस विधेयकले सत्य साबित गर्नेछ ।’

नेपालको आँखा उपचार क्षमतालाई थप सुदृढ गर्दै नेपाललाई क्षेत्रीय नेत्र उपचार तथा अनुसन्धानको हब बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाइ छ ।