काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड चाहिँदैन भनेर एमालेले मात्र भन्नुको कारणबारे प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले यसबारे प्रश्न उठाएकी हुन् ।

‘कम्तीमा दुई वर्ष कुलिङ पिरियड राखौंभन्दा नेकपा एमालेले मात्रै राख्नु पर्दैन भन्नुको कारणचाहिँ के रहेछ ?,’ उनले भनिन्, ‘सुन्दै छौं अहिले केही आसेपासेहरूलाई निजामती सेवा छोड्नासाथ राज्यका अंगहरूमा नियुक्ति गरेर शक्ति सन्तुलन बिगार्न कुलिङ पिरियड नराख्ने भनिएको छ । यसमा होस् पुर्‍याइयोस् जनताले नजिकबाट हेरिरहेका छन् ।’

राष्ट्रिय सभामा विधेयकमाथि संशोधन हाल्दै एमालेका सांसदहरूले  प्रतिनिधि सभाबाट पारित भएको विधेयकको प्रतिवेदनमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान रहेको दफा नै झिक्नुपर्ने प्रस्ताव राखेका छन् । प्रस्तावित विधेयकको दफा ८२ को उपदफा ४ मा कुलिङ पिरियड राख्ने गरी प्रतिनिधिसभाले पास गरेर राष्ट्रिय सभामा पठाएको छ ।