काठमाडौं - प्रधानमन्त्री केपी ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम सम्पन्‍न गरी शान्तिप्रकियालाई टुंगोमा पुर्‍याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा उनले यस्तो बताएका हुन् । ‘संविधानले निर्देशन गरेबमोजिम सहिदहरू, बेपत्ता र द्वन्द्वपीडितहरूको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ छ,’ उनले भने, ‘पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ । द्वन्द्व पीडितहरूसँग हामी विभिन्‍न तहमा निरन्तर छलफलमै छौँ । शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने विषय सबैको उत्तिकै चासो र सरोकार भएको विषय हो ।’

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्थाबमोजिम नै आयोगहरू गठन भै कार्य प्रारम्भ भएको प्रधानमन्त्रीको भनाइ छ । ‘मलाई विश्‍वास छ, आगामी दिनमा आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्तिप्रक्रियाका बाँकी कामहरू अगाडि बढाउनुहुनेछ,’ प्रधानमन्त्री ओलीले भने ।