काठमाडौं - नेपाली कांग्रेसका नेता, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले एकले अर्कालाई हिलो छ्यापाछाप गरेर पार्टी बलियो नहुने बताएका छन् ।
कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताए । ‘एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछाप गर्नुभन्दा पार्टीभित्रका कमजोरी र त्रुटि सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले राम्रो गर्दैन,’ उनले भने ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टीको संगठन सुदृढीकरणका लाग्नुपर्नेमा जोड दिए । कांग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेस बलियो बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै उनले चुरे दोहन नरोकेसम्म संरक्षण हुन नसक्ने धारणा राखे । मधेसमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन पनि कारण रहेको भन्दै सिंहले मधेसमा देखिएको पानीको समस्यामा सरकार गम्भीर रहेको दाबी गरे ।
मन्त्रिपरिषद् बैठकले मधेसमा देखिएको पानीको समस्याबारे केही निर्णय गर्ने जानकारी पनि उनले दिए । कार्यक्रममा धनुषाका स्थानीय सरकारका प्रमुखहरूले इतिहासमै यसपटक सहरी विकास मन्त्रालयबाट धेरै बजेट परेको भन्दै धन्यवाद दिएका थिए ।


0 comment