काठमाडौं - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गरेका छन् ।

कीर्तिपुरमा बुधबार आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनले सरकारमा दुईवटा हात्तीजस्तै शक्तिशाली पार्टी रहे पनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गरे । उनले एकपछि अर्को भ्रष्टाचारका काण्ड देखापरेको भन्दै भ्रष्टहरुले देशमा शासन गरिरहेको दाबी गरे ।

‘अहिले कस्तो सरकार बनिरहेको छ । के गरिरहेको छ । जनताको हितमा । कम्युनिस्ट पार्टीको सरकार छ । तर कम्युनिस्ट पार्टी कसरी भयानक ढंगले बर्बादीतर्फ, बदनामतर्फ गइरहेको छ । हामीले जुन बेलामा नयाँ जनवाद स्थापना गर्न सकेको भए समाजवादतर्फ जाने अनिवार्य आधार बन्थ्यो । तर पुँजीवादी जनवाद स्थापना भयो,’ उनले भने, ‘बहुदलीय जनवाद स्थापना भयो । त्यसले हामीलाई दलाल पुँजीवादतर्फ लग्यो । राजनीतिक संकट हरदिन गहिरिएको छ । दुईवटा हात्तीजस्ता पार्टीहरु छन्, सत्तामा । कमिलो पनि मार्दैनन् । हात्ती जस्ता पार्टीहरुले । देश र जनताको हितमा कमिलो मार्न पनि यो सरकारले सक्दैन ।’

उनले देशमा भ्रष्टाचार आज हरेक क्षेत्रमा व्याप्त रहेको बताए । भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मूलन नगरेसम्म जनताले आफ्नो हक नपाउने खनालको भनाइ छ । हरेक दिन २५ सय नेपाली विदेशमा रोजगारीका लागि जाने गरेको र पाँच जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै सरकारलाई प्रतिप्रश्न गरे ।

‘एकपछि अर्को भ्रष्टाचारका काण्डहरु देखापरेका छन् । भ्रष्टहरुले देशमा शासन गरिरहेका छन् । भ्रष्टाचार आज यो देशको हर क्षेत्रमा व्याप्त भएको छ । जबसम्म भ्रष्टाचार उन्मूलन गर्ने अभियान एउटा आँधीबेहेरी ल्याउन सकिँदैन, तबसम्म यो देशका जनताले हक पाउने कुनै सम्भावना छैन,’ उनले भने, ‘रोजगारी सिर्जना गर्ने कुनै सम्भावना छैन । हरेक दिन विदेशमा २५ सय मानिस जाँदै छन् । पाँचवटा शव बाकसमा फर्किएको छ । यही हो बहुदलीय जनवादले गरेको काम ? पुँजीवादी जनवादले गरेको काम र प्रगति ? व्यवहारमा यही कुरा देखिरहेका छौँ ।’

सम्मानित नेता खनालले नयाँ जनवादलाई लागु गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास विन्दुमा गएपछि नेपालको कम्युनिस्ट आन्दोलन भड्किएको दाबी गरे । ०६२/६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको खनालको भनाइ छ ।