काठमाडौं - नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घोषणा गरेका छन् ।

कीर्तिपुरमा बुधबार आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरे । उनले काम दिनका कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन आग्रह गरे ।

उनले कामविनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म आफू पार्टीमा बस्न नसक्ने बताए । ‘मलाई के पद दिने भन्ने विषय उठेको छ । मलाई चाहिन्न पद । मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिन तपाईंहरुले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् । कामविनाको पद चाहिँदैन । कुनै पनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिनँ,’ उनले अध्यक्ष माधव नेपालकै सामुमा भने, ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरुसँग बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो । एउटा जिल्ला कि, दुईवटा जिल्ला कि आधा जिल्ला कि, एउटा पालिका कि । क्षेत्र भनेको । जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचनाहरु छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ ।’

वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्‍याउनुपर्ने धारणा राखे ।