काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् ।
कीर्तिपुरमा बुधबार आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनले चुनौती आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको धारणा राखे । उनले चुनौती आउँदैमा पलयन नै हुनुपर्ने भन्ने नरहेको बताए । उनले चुनौतीको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने बताए ।
आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्नु उचित हुने उनको भनाइ छ । पार्टीविरुद्ध कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने बताए । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउनसक्ने अध्यक्ष नेपालको भनाइ छ ।
‘आन्तरिक कुरा पार्टीभित्र गर्ने हो । जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तभन्दा अर्को वैज्ञानिक र क्रान्तिकारी व्यवहारिक सिद्धान्त आएको छैन । कम्युनिस्ट आन्दोलनको भविष्य छ । पार्टीको पक्षपोषण गर्ने हो, पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्छ । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउँछ,’ उनले भने ।
अध्यक्ष नेपालले समाजको परिवर्तन र रुपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरुको काँधमा रहेको दाबी गरे । ‘समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा अझै हाम्रै काँधमा छ,’ उनले भने ।


0 comment