काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा माओवादी केन्द्र रहेको आरोप लगाएका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले राजनीतिक अवस्था लथालिंग र कम्युनिस्ट कार्यकर्ताहरु अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटि रहेको आरोप लगाए ।
उनले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिस्ट पार्टीहरुलाई नरहेको पनि बताए । उनले भने, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिस्टको दोष छ । कम्युनिस्ट शक्तिहरुमा माओवादीको सबैभन्दा ठुलो दोष छ । आजको राजनीति भ्रष्ट हुनु, लथालिंग हुनुमा, नेता कार्यकर्ताहरुलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटि माओवादीको छ ।’
स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ ।


0 comment