काठमाडौं - चितवनमा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार यस अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेंगी सङ्क्रमित भएका हुन् ।

त्यसैगरी अन्य जिल्लाबाट आएका ४१२ पुरुष र ४५७ महिला गरी ८६९ जनामा डेंगी सङ्क्रमण देखिएको छ । गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन् । जहाँ एक हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसपछि रत्ननगर नगरपालिकामा नौ सय सात, इच्छाकामना गाउँपालिकामा २६७, खैरहनी नगरपालिकामा २२३, राप्ती नगरपालिकामा १२४, कालिका नगरपालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना सङ्क्रमित भएका छन् । डेंगीका कारण गत आवमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

जिल्लामा गत आव १७ हजार ३५३ जनाको रगत परीक्षण गरिएको थियो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले सङ्क्रमणदर उच्च भए पनि मृत्युदर कम रहेको बताए । उनका अनुसार अघिल्लो आवमा एक हजार आठ सय ३१ जनामा डेंगी सङ्क्रमण देखिएको थियो, जुन २३ हजार आठ सय ४० जनाको परीक्षणबाट पुष्टि भएको थियो ।

आव ०७४/७५ मा एक हजार २९१ परीक्षण ५९ सङ्क्रमित, ०७५/७६ मा एक हजार ९५१ परीक्षण ३१ सङ्क्रमित, ०७६/७७ मा १९ हजार २३० परीक्षण चार हजार ८०३ सङ्क्रमित, ०७७/७८ मा एक हजार ७१७ परीक्षण २४३ सङ्क्रमित, ०७८/७९ मा १४ हजार ९७८ परीक्षण, तीन हजार ३३६ सङ्क्रमित, ०७९/८० मा पाँच हजा ४५४ परीक्षण, ३०३ सङ्क्रमित भएको कार्यलयको तत्याङ्मा उल्लेख छ । जिल्लाको मुख्य बजार क्षेत्रमा डेंगी जोखिम बढी हुने गरेको छ ।

सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ । कार्यालयले सबै सातै पालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग अन्तक्र्रिया र छलफल गर्दै डेंगी नियन्त्रणका उपाय अघि बढाएको भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए । डेंगी फैलाउने लामुखुट्टेको सङ्ख्या बढ्ने मौसमी कारण यस सिजनमा सतर्क रहन सबैलाई सचेत गराइएको उनले बताए । नेपालमा डेंगी ज्वरो पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो ।

त्यो वर्ष यहाँ आएका एक जापानी पर्यटकमा रोग पुष्टि भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा पनि डेंगीका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा सङ्क्रमण देखिएको थियो । सन् २०१० मा तीन हजार २९८ जनाको परीक्षण गर्दा ७३९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । भेक्टर कन्ट्रोल केसीका अनुसार डेंगी रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ ।

यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बताए ।

डेंगी ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उहाँले जानकारी दिनुभयो । डेंगी ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको भेक्टर कन्ट्रोल केसीले बताए । -रासस