काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताएका छन्। 

शनिबार चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यो नाका वर्षभरि सञ्चालन गर्न सकिने भएकाले सरकारले यसलाई विशेष प्राथमिकतामा राखेको बताए।

मन्त्री खड्काका अनुसार चीन सरकार पनि यो नाकामा चासो राखेको छ र पूर्वाधार निर्माणमा सहयोग गर्नेछ। सडक सञ्जाल जोडिएपछि यो नाका सञ्चालनमा आउने र व्यापार तथा कूटनीतिक सम्बन्ध अझ बलियो हुने उनको भनाइ छ।

उनले त्रिदेशीय सम्बन्ध सन्तुलनमा राख्दै अगाडि बढ्नुपर्नेमा पनि जोड दिए।

सङ्खुवासभाका जलविद्युत् आयोजनामा भारतको लगानी रहेको भन्दै दुवै छिमेकी मुलुकसँग समन्वय गरेर विकासको काम अघि बढाउनुपर्ने मन्त्री खड्काले बताए।

नव उद्घाटन भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले चार जिल्लामा सेवा दिनेछ। यसमार्फत जलस्रोतको दीगो उपयोग गरी कृषि उत्पादन बढाउने लक्ष्य राखिएको छ।

‘स्रोत र सम्भावना भएर पनि सङ्खुवासभा पछि परिरहेको थियो, अब जनताको मागअनुसार बजेट ल्याइएको छ,’ मन्त्री खड्काले भने। उनका अनुसार ऊर्जा क्षेत्रको ८० प्रतिशत काम मन्त्रालयले सम्पन्न गरिसकेको छ।