काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको बताएका छन् ।

सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले नेतृ भण्डारीले सार्वजनिक रुपमै एमालेको सदस्यता नवीकरण गरेको र पार्टीमा सक्रिय रुपमा राजनीति गर्ने घोषणा गरिसक्नुभएको अवस्थामा पार्टीले यसबारेमा छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरे। पार्टीमा सक्रिय हुने घोषणापछि अब पार्टीले उचित स्थान दिनुपर्ने बताए ।  

सचिव भट्टराईले भनर्, ‘उहाँले सार्वजनिक ढंगले नै घोषणा गरिसकेपछि अब यो उहाँको व्यक्तिगत विषय मात्रै भएन । यो पार्टीको सार्वजनिक विषय भयो । नेकपा एमालेको राजनीतिमा सक्रिय रुपमा फर्किने घोषणा गरेर आफ्ना सेवा, सुविधा सबै त्यागेर आइसकेपछि पार्टीको मामिला मात्रै भएन । हामी छलफल गर्छौं । उहाँ सक्रिय रुपमा आउनुहुन्छ पार्टीमा उहाँलाई उचित स्थान दिनुपर्छ । उहाँको सम्मानजनक ठाउँ खोज्नुपर्ला । पार्टीको हाइलेभलमा कुराकानी होस् भन्ने हाम्रो चाहना छ । ’

सचिव भट्टराईले पूर्वराष्ट्रपति भइसकेको र यसअघि पनि पार्टीको उपाध्यक्षसमेत रही सकेको अवस्थामा पार्टीको प्रणालीबाटै नेतृ भण्डारी अघि बढ्ने कुरामा कुनै शंका नरहेको बताए ।