काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् । ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताए ।
उनले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि चेतावनी दिए । उनले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकार गरे । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताए । डेंगी समस्याभन्दा माथि गइसकेको बताए ।
मन्त्री पौडेलले भने, ‘जसरी हामीले यसलाई महशुस गर्नुपर्ने हो त्यसरी हामीले महशुस गरेको स्थिति छैन । हामीले यसको जटिलता, चुनौति, समस्या जति हो, त्यसरी नै समाजलाई महशुस गराउन जरुरी छ । मलाई लागेको छैन, म सुरक्षित छु भन्नेकुरा बेकार हो । परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ । समाजका सबै मान्छे प्रभाविता भएको स्थिति छ । वर्षेनी बढिरहेको छ ।’
मन्त्री पौडेलले सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको बताए ।
सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउन आह्वान
यस्तै स्वास्थ्यमन्त्री पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरे । ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान शुरु गर्न आग्रह गरे ।
साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको संक्रमण उच्च हुने भन्दै ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरु व्यवस्थापन गर्न आग्रह गरे । सरकारी कार्यालयहरु जोगाउनसके दर्जनौँ मानिसहरुलाई डेंगुबाट जोगाउन सकिने बताए । डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने बताए ।
मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गर्नुभयो । आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने बताए । उनले सरकारी कार्यालयहरु सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताउनु भयो । हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रुपमा सरसफाईमा लाग्न आग्रह गरे ।


0 comment