काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिने बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालको ४३औं वार्षिकोत्वसका अवसरमा आज (सोमबार) आयोजित समारोहमा ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताए । उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने पनि जनाए ।
उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई आग्रह पनि गरे । ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले आफूले दोस्रोपटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए । ‘मानिसहरु बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन् । अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ । त्यो विश्वासलाई पूरा गर्नु तपाईंहरुको दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने, ‘नर्सहरुको हातमा जादु हुन्छ । बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन् । ठीक औषधि, ठीक मात्रामा र ठीक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने र स्याहार-सुसार गर्ने काम नर्सहरुको हो ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट कर्मचारी र अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरे । अस्पतालको वार्षिकोत्सवका अवसरमा आजै नयाँ सेवा भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए ।



0 comment