काठमाडौं - क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि अब निःशुल्क उपलब्ध हुने भएको छ ।

नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो खेप नेपाल आइपुगेको हो ।

यसअघि मन्त्री पौडेलले त्यस्ता औषधी प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए । डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मिहिनेतपछि सफलता प्राप्त गरेको बताए ।

डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरुप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए । ‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’  उनले भने, ‘राज्यको लगानीबिनै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’

हाल ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधीसमेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए । ‘सूची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ पौडेलले भने ।

उनले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको जानकारी पनि दिए ।  मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बिमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे ।

मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधी प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए ।

वन हर्ट वर्ल्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठुलो उपलब्धि भएको बताए ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू विभिन्न चार अस्पतालमा क्यान्सरका बिरामीलाई  निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधी र स्वास्थ्य सामग्री आजै क्यान्सर उपचारमा संलग्न चार अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके, वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।