काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्दारमा द्रुत एकीकृत पहल गर्न तथा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि–उपचार र अस्थायी बसोबासको भरपर्दो व्यवस्था मिलाउन सरकार समक्ष आग्रह गरेको छ ।
रास्वपाले विज्ञप्ति जारी गर्दै नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि जीवनरेखा मानिने रसुवागढी नाकाको मितेरी पुल र सुख्खा बन्दरगाहमा भएको क्षतिले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने भएकाले प्राविधिक मूल्यांकन गरी पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने गरी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न समेत सरकार समक्ष आग्रह गरेको छ ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक सहकार्य तथा पूर्वसूचना प्रणाली जडानका लागि चिनियाँ पक्षसँग उच्चस्तरीय कूटनीतिक संवाद अगाडि बढाउन पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।
नदी तटीय क्षेत्रमा रहेका बस्ती, पुल, सडक र अन्य महत्वपूर्ण संरचनाहरूको भौगर्भिक तथा वातावरणीय जोखिम मूल्यांकन गरी विपद् प्रतिरोधी मापदण्ड कडाइका साथ लागू गर्न सरकार चुकेको भन्दै यसप्रति गम्भीर हुन विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
साथै रसुवासहित अन्य स्थानमा भएका प्राकृतिक विपद्का घटनाका प्रभावितको उद्दार, राहत र अन्य मानवीय सहयोगमा स्थानीय प्रशासनसँग समन्वय गरी सक्रियतापूर्वक जुट्न पार्टी पंक्तिलाई आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विपत्तिको सामना तथा प्रभावितको उद्दार,राहत र पुनःस्र्थापनाको कार्यमा पार्टीको तर्फबाट सरकारलाई पूर्ण रचनात्मक सहयोग रहने प्रतिबद्धता समेत रास्वपाले व्यक्त गरेको छ ।


0 comment