काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग सातै प्रदेशका प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन, शीतल निवासमा बुधबार बिहान भएको भेटवार्तामा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको समग्र अवस्था, विकासका प्राथमिकता, जनअपेक्षा र प्रशासनिक कामकारबाहीबारे राष्ट्रपति समक्ष जानकारी गराएका हुन्।
भेटमा कोसी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए।
राष्ट्रपतिले प्रदेश प्रमुखहरूको कामप्रति चासो व्यक्त गर्दै संघीयताको सफल कार्यान्वयनका लागि सबै प्रदेश प्रमुखहरूलाई संवैधानिक जिम्मेवारी निर्वाहमा अझ सक्रिय र प्रभावकारी बन्न आग्रह गरेका थिए।
भेटका क्रममा प्रदेश प्रमुखहरूले आ–आफ्नो अनुभव बाँड्दै प्रदेशमा देखिएका केही चुनौती र सम्भावनाहरूको विषयमा समेत राष्ट्रपति समक्ष कुरा राखेका थिए।


0 comment