काठमाडौं - सभामुख देवराज घिमिरेले सांसदहरुलाई जिम्मेवारीपूर्वक प्रस्तुत हुन निर्देशन दिएका छन्। संसदमा बढ्दो असभ्य व्यवहारप्रति आक्रोशित बनेका सभामुखले आइतबारको बैठकमा चेतावनी शैलीमा सांसदहरुलाई संयमित हुन आग्रह गरे।
विशेषगरी सांसद रामहरि खतिवडा र डोलप्रसाद अर्यालबीच आरोप–प्रत्यारोप चलेपछि सभामुख घिमिरेले संसदमा बोलेका प्रत्येक शब्दका लागि सांसदहरु जवाफदेही हुनुपर्ने बताए। उनले भने, ‘माथिबाट होस् या तलबाट, समय लिएर बोलेका कुरा जिम्मेवारीपूर्वक हुनु आवश्यक छ। सांसदहरुले बोलेका कुराले राष्ट्रको गरिमा बढाउने खालको हुनुपर्छ।’
सभामुखले संसदीय अभ्यासमा गैरसंसदीय भाषा प्रयोग, नाम किटेर लाञ्छना लगाउने, आरोप लगाउनेजस्ता विषय रेकर्डबाट हटाउने परम्परा रहेको प्रस्ट पारे। उनले सांसदहरुलाई सम्बोधन गर्दै यस्तो व्यवहार संसदीय मर्यादाविपरीत हुने उल्लेख गरे।
‘सांसदहरुले आफूले बोलेका सबै कुरा सभामुखलाई देखाएर संसदबाट निर्णय गराउन खोज्न मिल्छ ?’घिमिरेको प्रश्न थियो।
प्रतिनिधिसभामा पछिल्ला दिनहरूमा सांसदबीचको विवाद, आरोप र अव्यवस्थित भाषाले संसदको गरिमामा आँच पुगेको भन्दै सभामुख घिमिरेले सांसदहरूको ध्यान त्यसतर्फ आकर्षित गराएका हुन्।


0 comment