काठमाडौं - एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक संकट आएको भन्दै पार्टी पुनर्गठनको माग गरेकी छिन्।

लुम्बिनी प्रदेशको तिलोत्तमामा आयोजित पार्टी सम्बद्ध युवा संघ नेपालको भेलालाई  शनिबार सम्बोधन गर्दै उनले ‘अर्ली महाधिवेशन’को प्रस्ताव अघि सारिन्।

‘अब के गर्ने? पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो,’ झाँक्रीले भनिन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टी पुनर्गठन गरौँ, अर्ली महाधिवेशन गरौँ र नेतृत्व नयाँ बनाऔँ।’

उनले नेतृत्व चयन खुला प्रतिस्पर्धाबाट हुनुपर्ने बताउँदै भनिन्, ‘हलबाट नेतृत्व छानौँ, तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ।’ झाँक्रीले पार्टीमा संकटको केन्द्रमै अध्यक्ष नेपाल रहेको स्पष्ट पारिन्। उनले भनिन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो। काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन। ’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पतञ्जलि जग्गा घोटाला काण्डमा विशेष अदालतमा ३५ लाख धरौटी बुझाएर रिहा भएका थिए। मुद्दा लागेपछि उनको सांसद पद निलम्बन भइसकेको छ। तर पनि उनले अहिलेसम्म पार्टीमा कार्यवाहक नेतृत्व तोकेका छैनन् । कुनै समय अध्यक्ष नेपालनिकट रहेकी झाँक्रीको यस्तो कडा अभिव्यक्तिले पार्टीभित्र व्यापक हलचल ल्याएको छ।