काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिलाई आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन्।

नेपाल उद्योग व्यापार महासङ्घको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष दाहालले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पुँजी प्रवर्द्धनमा योजनाबद्ध प्रयास गरिएको उल्लेख गरे।

उनले जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भने, ‘सरकारको नेतृत्व गर्दा हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाको अवधारणा ल्यायौं। ती आयोजनाले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले यो परिवर्तन अनुभव गरिसकेका छन्।’

अध्यक्ष दाहालका अनुसार आफ्नो नेतृत्वमा आठवटा उत्तरी नाका खोल्ने निर्णय गरिएकाले भारतमा मात्र निर्भर रहेको नेपालको व्यापार सन्तुलनमा विविधता ल्याउन सहयोग पुगेको छ।

प्रचण्डले सुशासनलाई बलियो बनाउने कार्यमा आफू केन्द्रित रहेको दाबी गर्दै राष्ट्रिय पुँजीको उत्पादन र उपयोगले मात्र मुलुकमा समृद्धि सम्भव हुने बताएका छन्।

उनको निजी सचिवालयका अनुसार अध्यक्ष दाहालले सरकारमा रहँदा लिएको नीति, कार्यक्रम र अवधारणाहरू देशको दीर्घकालीन आर्थिक हितमा केन्द्रित थिए।