काठमाडौं - आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
मंगलबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा विनियोजन विधेयक २०८२ प्रस्तुत गरेका थिए। सो विधेयकलाई प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको हो। संसद् विनियोजन बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुहरुले जवाफ दिएसँगै अर्थमन्त्री पौडेलले विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।
विनियोजन बजेटमाथि केही दिनदेखि निरन्तर संसदमा छलफल हुँदै आएको थियो । दुईबुँदे सहमतिपछि नेकपा माओवादी संसद सञ्चालन गर्न तयार भएपछि सभामुखले पेलेर सदनको काम कारबाही अगाडि बढाउँदै लगेका थिए ।
बजेट पारित गर्ने प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी भएनन्। दुवै दलले संसदको बैठक बहिष्कार गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका रास्वपा र राप्रपाले संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै छलफलमा सहभागी हुन अस्वीकार गरेका हुन्।


0 comment